छठ पर्वको मुख्य दिन अाज, अस्ताउँदो सूर्यलाई अर्घ्य दिने तयारी

Related image
            आइतबार सुरु छठ पर्वको मुख्य दिन आज (मंगलबार) साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिने तयारी हुँदैछ। ब्रतालुले आज साँझ कुण्ड, पोखरी र तलाउमा उभिई दुवै हत्केलामा पिठार र सिन्दुर लगाएर विशेष विधिका साथ अस्ताउन लागेको सूर्यकाे पूजा-अाराधना गर्नेछन्। यसका लागि तराई-मधेश क्षेत्रका इनार, पोखरी, नदी, ताल तलैया जलाशयका घाटलाई यतिबेला आकर्षक एवम् झकिझकाउ पारिएका छन्।
काठमाडौंमा पनि गुह्यश्वरी, गौरीघाट, बालाजुको माछापोखरी, सानो गौचरनको गहनापोखरी, कालिमाटी, ललितपुरको कुपन्डोल, नक्खु दोबाटोलगायत आठ स्थानमा छठ पर्वको विशेष तयारी गरिएको छ। गुह्येश्वरी र कमलपाेखरीमा आयोजित छठ समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी सहभागी हुने कार्यक्रम छ।गुह्येश्वरी छठ पूजा समितिका संयोजक राजकुमार पोद्दारका अनुसार गुह्येश्वरीमा ६६५ ब्रतालुका लागि ठाउँ निर्माण गरिएको छ।
ब्रतालुमध्ये ४० प्रतिशत पहाडी समुदायको सहभागिता हुने उनले बताए। यसपालि पहाडी समुदायको सहभागिता अझै बढ्ने अनुमान गरिएकाे छ। छठ पूजा समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरू, विभिन्न राजनीतिक दलका नेतालाई आमन्त्रण गरिएको छ। जनकपुरका गंगासागर, धनुषसागर, रामसागर, रत्नसागर, विहारकुण्ड, रूक्मिणी सरोवर, अरगजा, महाराजसागर र अग्निकुण्ड लगायतका कुण्ड, पोखरी, तलाउमा भक्तजनहरूको विशेष घुइँचो लागिरहेको छ। सत्य र अहिंसाप्रति मानवको रूचि बढाउने तथा सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्नु यस पर्वको मुख्य विशेषता हो। सन्तान प्राप्ति, निरोगिता, सुख, समृद्धि र चर्मरोग निको हुने जनविश्वास अनुरूप यो पर्व मनाइन्छ। यस पर्वमा धनी, गरीब, उचनिचको भेदभावलाई छाडेर सबै जाति र समुदाय एकै ठाउँमा बसेर सूर्यकाे पूजापाठ गर्छन्।
भोलि (बुधबार) उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि यो पर्व समापन हुन्छ।