प्रताप मल्लले रानीपोखरी बनाउँदा नेपाली भाषाको शिलालेख किन राखे ?
वैशाख २०७२ सालको महाभूकम्पले आंशिकरुपमा क्षतिग्रस्त भएको राजधानी सहरको केन्द्रमा रहेको ऐतिहासिक रानी पोखरीको पुनर्निर्माण कार्य सम्बन्धित निकायहरुबीचको विवाद र समन्वयको अभावका कारण ओझेलमा परेको छ । भूकम्पको केही समयपछि काठमाडौं महानगरपालिकाको सक्रियतामा सिमेन्ट तथा कंक्रिटकको प्रयोग गरी सुरु गरिएको सो ऐतिहासिक संरचनाको पुनर्निर्माण कार्य युनेस्कोको असहमतिपछि रोकिएको थियो । युनेस्कोले सो स्थलमा सिमेन्टको प्रयोग गर्दा त्यसको मौलिकतामा आँच आउने हुँदा सो कार्य तुरुन्त रोक्न निर्देशन दिएपछि विवाद खडा भएको हो । रानीपोखरी जीर्णोद्धार कार्यमा का.म.पा का अधिकारीहरुबीच नै गम्भीर मतभेद भएको कारण पनि सो पुनर्निर्माण कार्य रोकिन गएको हो । प्रसिद्ध इतिहासकार प्रा. दिनेशराज पन्तका अनुसार करिब साढे तीन सय वर्षअघि काठमाडौंका राजा प्रताप मल्लले आफ्नो सबैभन्दा प्यारो पुत्र चक्रवर्तेन्द्र मल्लको असामयिक निधन भएपछि पुत्रशोकमा परी उनै पुत्रको स्मृतिमा सो पोखरी बनाउन लगाएका थिए । सो पोखरी खन्ने कार्य वि.सं. १७२५ मा सुरु भए पनि निर्माण कार्य भने १७२७ मा मात्र पूरा भएको हो ।
सो पोखरीको महत्व यस मानेमा पनि छ कि त्यहाँ भारतको वनारस लगायत विभिन्न तीर्थस्थल तथा नेपालको गोसाईंकुण्ड, वराह क्षेत्र आदि स्थानहरुबाट जल ल्याएर भरिएको थियो । काठमाडौं सहरको बाहिर पर्ने (त्यसबखत हनुमानढोका वरिपरिको इलाका मात्र सहर मानिन्थ्यो) गरी निर्माण गरिएको सो पोखरीको नाउँ पहिले नेवारी भाषामा न्हु पुखु अर्थात् नयाँ पोखरी राखिएको थियो । तर पछि प्रताप मल्लका छोरा पार्थिवेन्द्र मल्लका पनि छोरा भूपालेन्द्र मल्लले आफ्नी रानी भुवनलक्ष्मी (प्रताप मल्लकी नातिनी बुहारी) को स्मृतिमा जिणोद्धार गरेपछि सो पोखरीको नाउँ रानी पोखरी राखिएको इतिहासकार पन्त बताउनुहुन्छ । सो पोखरीको अर्को विशेषता हो त्यसमा कुँदिएको शिलालेख । इतिहासकार पन्तका अनुसार आजभन्दा साढे तीन सय वर्षअघि लेखिएको सो शिलालेखमा प्रताप मल्लले नेपाली भाषा प्रयोग गरेका थिए । रामायणको नेपाली भाषामा अनुवाद गर्ने श्रेय पाएका आदिकवि भानुभक्त जन्मनुभन्दा करिब डेड सय वर्षअघि नै नेपाली भाषा चलनचल्तीमा रहेको कुरा सो शिलालेखबाट पुष्टि हुन्छ । सो शिलालेखमा नेपाली भाषा किन प्रयोग गरियो भन्ने कुरा कौतुहलको विषय बनेको छ ।
पृथ्वीनारायण शाहले नेपाल एकीकरण अभियान सुरु गरेको कारण त्यसरी नेपाली भाषाको प्रयोग सो शिलालेखमा भयो कि भनी तर्क गर्ने हो भने सो पोखरीको निर्माण पृथ्वीनारायण शाहले काठमाडौं हमला गर्नुभन्दा एक सय वर्ष अघि नै भएको हुँदा त्यसप्रकारको आशंकाको कुनै अर्थ रहँदैन । सो पोखरीको शिलालेखमा सुरुका केही संस्कृत शब्दहरु र अन्त्यतिर प्रयोग भएका केही नेवारीमा शब्दहरु बाहेकबीचको मूलभागमा अधिकांश नेपाली भाषाको प्रयोग भएको पाइन्छ । सो शिलालेखमा लोकको कल्याण होस्, सबैको भलो होस्, अबदेखि देशविदेशका तीर्थको दर्शन यहींबाट गर्न सकिन्छ भन्ने आशयका शब्दहरु उल्लिखित छन् । यसरी काठमाडौंका नेवार राजाले आफैंले बनाएका संरचनामा नेपाली भाषामा शिलालेख लेख्नु बडो रोचक विषय मानिएको छ । काठमाडौं बाहिरका खस भाषा बोल्ने तीर्थयात्रुहरुलाई पनि सो पोखरीतर्फ आकर्षित गर्न सकियोस् भनी धार्मिक पर्यटन प्रवर्द्धन गर्ने मनसायले त्यसमा नेपाली भाषा प्रयोग भएको हुनुपर्छ । यसबाट निश्चय पनि प्रताप मल्लको दूरदर्शिता र उदार हृदयको परिचय पाइन्छ । उनी अन्य भाषा र संस्कृतिप्रति पनि सहनशील र संवेदनशील रहेको कुरा यसले पुष्टि गर्छ । सो रानीपोखरीको बीचमा एक मन्दिर तथा पुल समेत प्रताप मल्लले नै राख्न लगाएका हुन् ।
पोखरीको मध्य भागमा रहेको बालगोपालेश्वर मन्दिरको बीचमा शिवलिंग तथा त्यसको दायाँ–बायाँ बालगोपाल र भगवतीका प्रतिमाहरु छन् । ढुंगामा कुंदिएको भगवतीको ठूलो (करिब मानिसको आधा आकार जतिको) धेरै हातहरु भएको प्रतिमा अत्यन्त सुन्दर छ । अहिले सो मन्दिर त्यत्तिकै खुल्ला राखिएको छ भने पोखरीको पानी सुकाइएको छ र त्यहाँका माछाहरु पनि स्थानान्तरण गरिएको बुझिन्छ । नेपालको मल्लकालीन कला र संस्कृतिको सुन्दर नमुनायुक्त सो रानीपोखरी परिसर अहिले उजाड भएको छ । त्यहाँ पोखरीमा झारपात र लेउ मात्र देखिन्छ । त्यसको सरसफाइमा समेत सम्बन्धित निकाय उदासीन देखिएको छ । रानीपोखरीमा कुनै बखत बोटिङको पनि व्यवथा गरिएको थियो भने त्यहाँ रंगीन बत्ती राखी रंगीचंगी फोहराको पनि व्यवस्था करिब एक डेड दशक अघि गरिएको थियो । रानीपोखरीलाई सिमेन्ट र कंक्रिटको प्रयोग नगरी त्यहाँको मौलिक कलाकृतिको संरक्षण गरी जीणोद्धार गरिनुपर्ने विज्ञहरुको सुझाव छ । सो पोखरी मौलिकता नबिग्रिने गरी त्यसको पुनर्निर्माण गरिनुपर्ने कुरामा महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ जोड दिनुहुन्छ ।
उनका अनुसार सो पोखरीको पुनर्निर्माण तथा जिर्णोद्धार गर्ने जिम्मा महानगरपालिकालाई सुम्पिएको छ भने पोखरीबीचको मन्दिर जीर्णोद्धार कार्यको जिम्मा पुरातत्व विभागले पाएको छ । विज्ञहरु सो पोखरीको जीर्णोद्धार कार्यमा परम्परागत शैलीमा काम गर्ने अनुभवी कालिगढहरुलाई संलग्न गराई त्यस ऐतिहासिक संरचनाको मौलिकता कायम गरिनुपर्नेमा जोड दिन्छन् । रानीपोखरीको मध्यभागमा स्थित मन्दिरको पुनर्निर्माण कार्यलाई अघि बढाइँदा मौलिक ग्रन्थकुट शैलीमा निर्माण गर्ने कि भूकम्पभन्दा अघिसम्म कायम रहेको गुम्बज शैलीमा निर्माण गर्ने भन्ने विवाद देखिएको मा पर्यटन तथा संस्कृति मन्त्रालय तथा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण समेतका विज्ञहरु संलग्न रहेको हालैको एक बैठकले ग्रन्थकुट शैली नै कायम गरी पुनर्निर्माण कार्य अघि बढाउने निर्णय गरेको छ । साथै सो ग्रन्थकुट मन्दिरको कुल उँचाइ १३ फिटको गजुरसमेत गरी सतहबाट जम्मा ५२ फिटको गर्ने सिफारिस पनि विज्ञहरुले गरेको बुझिएको छ
सो मन्दिर मल्लकालमा ग्रन्थकुट शैलीमा निर्माण गरिएको भए पनि पछि त्यसको पटक–पटक पुनर्निर्माण गर्ने क्रममा गुम्बज शैली अपनाइएको भन्ने विज्ञहरुको भनाइ रहेको छ । सुरुमा पुरातत्वले गुम्बज शैलीमा मन्दिरको निर्माण कार्य थालेपछि त्यसमा विवाद उत्पन्न भएको थियो । का.म.पा. को एक सूत्रका अनुसार पोखरीमा पानी भर्न मात्र पाँच करोड लाग्ने अनुमान छ । सो पानी कसरी भर्ने भन्ने विषय पनि अहिले विवादित बनेको छ । पहिले त्यहाँ प्राकृतिक रुपमा वरिपरिको जमीनबाट पानी चुहिएर जम्मा भई आउने गरेको मा अहिले अनियन्त्रित सहरीकरणका कारण पानीको मुहान बन्द भएको छ । अब सो पानीको मुहानबारे पुनः विज्ञहरुको संलग्नतामा अनुसन्धान थाल्नु उपयुक्त हुने देखिन्छ । अन्यथा पानीको अभाव रहेको अवस्थालाई मध्यनजर राखी रानीपोखरीको पोखरी क्षेत्रलाई साँघुरो बनाई बाँकी स्थानमा रुख, बिरुवाहरु रोपी हरियालीसहितको खुला पार्ककोरुपमा विकास गर्न सकिने विकल्पतर्फ सोच्नुपर्ने हुन्छ । जे होस् रानीपोखरीको जीर्णौद्धार यथासक्य चाँडो सम्पन्न गर्नुपर्ने आवश्यकता तड्कारो रुपमा देखिएको छ । तर त्यसको ऐतिहासिक मूल्य र परम्परागत शैली कायम गर्ने कुरामा भने कुनै हालतमा सम्झौता गर्नु उचित हुनेछैन ।

0 टिप्पणियाँ