गाउँमा बिजुली बाल्ने प्रयास २६ वर्षपछि सफल



दार्चुलाको महाकाली नगरपालिका(२ मुल्लाका ७५ वर्षीय अमरसिंह साहुले आफ्नो गाउँमा विद्युत् पुर्‍याउन थालेको प्रयास २६ वर्षपछि सफल भएको छ। अर्थात् वरपर विद्युत पुगेको २६ वर्षपछि उनको गाउँमा बल्ल बिजुली बलेको हो। गाउँकै खोलाबाट महाकाली नगरपालिकाको डुङुरीमा २०४९ सालमै दुई सय किलोवाट विद्युत् उत्पादन सुरु भएको थियो। यसबाट सदरमुकामसहित पूरै महाकाली नगरपालिका झिलमिली हुँदा पनि १० किलोमिटर टाढाको मुल्ला गाउँका बासिन्दाले बिजुली बाल्न पाएका थिएनन्।

वरपरका गाउँमा यसअघि नै बिजुली बलेको थियो। साहुले २०४९ सालमा विद्युतीकरणका लागि तीनवटा पोल गाउँमा  पुर्‍याएका थिए। गाउँमा पोल  पुर्‍याए पनि बिजुली बाल्न भने सकिएको थिएन।‘ठेक्का भयो, छिमेकी गाउँमा बिजुली बल्यो, नजिकैको मूल्लामा बिजुली बाल्न सकिएन,’ साहुले भने। छिमेकी गाउँका बासिन्दाले बिजजुली बालेको हेरेर चित्त बुझाउनुपर्ने अवस्था आयो। अहिले गाउँलेले नेपाल विद्युत् प्राधिकरण दार्चुला वितरण केन्द्रबाट आफैले ६ वटा पोलमा साढे चार किलोमिटर लामो तार तानेर गाउँमा बिजुली बालेका छन्।

पूर्व वडाध्यक्ष प्रेमसिंह साहु सामान ढुवानी बापतको रकम आफैले तिरेको बताउँछन्। मैखौलीमा डेढ महीनाअघि विद्युत् पुग्यो। मूल्लाका ६० परिवारले बल्ल बत्ति बाल्न पाए। अझै घट्टेखोलाका ३० परिवार अन्धकारमा छन्। स्थानीय सरकार बनेपछि नगरपालिकाको समन्वयमा विद्युत् बाल्न पाएको स्थानीय बासिन्दा बताउँछन्।