कर्णालीका गाउँ युवाविहीन
कालीकोट शुभकालिका गाउँपालिका–३ गोठीमुलाका २० वर्षीय अक्कल परियार दसंैतिहार मान्न एक महिनाअघि घर आएका थिए । सोमबार उनीसहितको टोली सुर्खेत–नेपालगन्ज हुँदै भारततर्फ लाग्यो । ‘गाउँघरतिर रोजगारी पाइँदैन । किसानी गर्न पर्याप्त जमिन छैन’, १४ वर्षको उमेरदेखि भारत जान थालेका उनले भने, ‘चार–छ महिना काम गरेर फेरि नयाँ वर्षमा फर्किहाल्छौं ।’ यहाँका अधिकांश युवा उत्तराञ्चल, हिमाञ्चललगायतका क्षेत्रमा रोजगारीका लागि जाने गर्छन् । दसैंतिहार मानेर गएका युवा नयाँ वर्षम घर फर्कन्छन्।
जुम्ला सिञ्जाका कर्णबहादुर हमाल कालापहाड यात्राका लागि घर छोड्ने तयारीमा छन् । उनी बर्सेनि उनी कालापहाड जान्छन् । ज्याला मजदरी गर्छन् । कालापहाडमा कमाएको पैसाले परिवारको लुगाफाटो फेर्छन् । तिहार सकाएर कालापहाड जाने गरेका उनी चैतमा धानको बिउ राख्ने समयमा घर फर्किन्छन् । ‘गाउँमा रोजगारीका अवसर छैनन्, घर बसेर परिवारको खानाखर्च र लत्ताकपडा फेर्न सकिँदैन’, उनले भने, ‘रहरले होइन, बाध्यताले कालापहाडे हुनुपरेको हो।’
जुम्लाकै तिला गाउँपालिकाका बिर्खबहादुर बुढाले गाउँका अन्य युवासहित तिहारको भोलिपल्टै कालापहाडतर्फ लागे । ‘यहाँ खाली बस्नु भन्दा हिउँदको चार महिना कालापहाडमा काम गर्यो भने नयाँ वर्षमा परिवारका सदस्यको नयाँ लुगा फेर्न पाइन्छ । दुई छाक भए पनि मिठोमसिनो खान पाइन्छ’, उनले भने।
यतिबेला जुम्लाका अधिकांश पुरुष कालापहाडको यात्रामा छन् । कर्णाली राजमार्गमा चल्ने सवारीलाई कालापहाड जाने यात्रु बोक्न ठिक्क छ । गाउँ सुनसान हुँदै गएका छन् । कालापहाड जानु यहाँका स्थानीयको रहर भने होइन । ‘कालापहाडमा मजदुरी गर्दा निकै कष्ट हुने गरेको छ’, जगदीश रोकायले भने, ‘अर्काको ठाउँमा गएर मजदुरी गर्नु कर्णालीवासीका लागि रहर नभएर बाध्यता हो।’
दैलेखको आठबीस नगरपालिका–५ पीपलकोटका बलबहादुर शाही तिहारलगत्तै कामको खोजीमा भारततिर लागे । दसैंतिहार मान्न आएका उनी गहुँ लगाएर भारतको गढवालतर्फ गएका हुन् । पीपलकोट गाउँमा अहिले युवा भेट्न पाइँदैन । ‘गाउँ खाली भइसक्यो’, स्थानीय बलबहादुर शाहीले भने, ‘चाडपर्वमा भरिभराउ हुन्छ, अरू बेला सुनसान ।’ वर्षमा दुई पटक कामका लागि यहाँका अधिकांश युवा कालापहाडतर्फ लाग्छन्।
‘गाउँमा रोजगारीका अवसर छैनन्, घर बसेर परिवारको खानाखर्च र लत्ताकपडा फेर्न सकिँदैन’ । रहरले होइन, बाध्यताले कालापहाडे हुनुपरेको हो।’
‘घरखर्च चलाउन नगई हुँदैन’, कालापहाड हिँडेका मोती टमट्टाले भने, ‘पाँच महिना कमाएर नयाँ वर्षमा फर्किहाल्छौं ।’ यी युवा भारतका कुल्लु, मनाली, गढवाललगायतका ठाउँमा सडक, घर तथा होटलमा काम गर्न जान्छन् । दैलेखका अधिकांश घरबाट न्यूनतम एकदेखि पाँच जनासम्म कामका लागि भारत जाने गरेका छन् । रुकुम ९पश्चिम० को बाफिकोट गाउँपालिका–६ का रामबहादुर विक दसैंतिहार मनाउन गत असोज २८ गते गाउँ पुगेका थिए । उनीसँगै सोही गाउँका पहलसिंह कुसारी पनि गाउँ आए । दुवै जना एक महिना नबित्दै आइतबार रोजगारीको खोजीमा कालापहाडतर्फ लागे।
गाउँमा रोजगार नभएकाले घरखर्च चलाउन आफूहरू भारतमा कमाउन जान लागेको रामबहादुरले बताए । उनी वर्षमा एकपटक मात्रै घर आउँछन् । ‘दसैंतिहारका लागि मात्र एक महिना घर आउँछु । बाँकी समय भारतमै रोजगारी गर्छुु’, उनले भने, ‘परिवारको छाक टार्नका लागि अर्काको ठाउँमा मजदुरी गर्नुपर्ने बाध्यता छ ।’ रामबहादुर र पहलसिंहजस्तै यहाँका धेरै पुरुषले रोजगारीका लागि गाउँ छोड्न थालेका छन् । गाउँका अधिकांश पुरुष रोजगारीका लागि भारत र अन्य देशमा गएकाले यहाँ युवा भेट्टाउन मुस्किल हुन थालेको बाफिकोट गाउँपालिकाकी शिक्षक धनकुमारी ओलीले बताइन्।
बाफिकोट गाउँपालिका–७ मग्मा डारुगाउँमा पनि वृद्धवृद्धा, महिला र बालबालिका मात्रै भेटिन्छन् । पुरुषहरु अधिकांश गाउँभन्दा बाहिर भएकाले महिलाले नै घरको कामदेखि खेतीपाती र विकास निर्माणका काम गर्नुपर्ने बाध्यता छ । गाउँमा कोही बिरामी पर्दासमेत बोकेर स्वास्थ्य संस्थासम्म लैजान पुरुष नभेटिने सानीभेरी गाउँपालिका–५ मेलचौरकी मनकला पुनले बताइन् । ‘वृद्धवृद्धा, बालबालिका कोही बिरामी भए महिलाले नै बोकेर स्वास्थ्य संस्थामा पुर्याउने गरेका छन्’, उनले भनिन्, ‘आफ्नै ठाउँमा रोजगार नपाउँदा गाउँ रित्तिएका छन्।’
सरकारको अनुभूति भएन
कालीकोटको शुभकालिका गाउँपालिकाका प्रदीप परियार तीनवटै तहको निर्वाचनमा मताधिकार प्रयोग गर्न कालापहाडबाट गाउँ फर्के । उम्मेदवारको भाषण सुन्दा उनलाई अब अर्काको देशमा गएर मजदुरी गर्नुपर्ला भन्ने लागेको थिएन । स्थानीय सरकार गठन भएको डेढ वर्ष पुगिसक्यो । गाउँमा रोजगारीको कुनै सम्भावना नदेखेपछि उनी फेरि पनि कालापहाड जान बाध्य भए।
‘गाउँगाउँमा सिंहदरबार आयो, रोजगारी पनि पाइएला भन्ने लागेको थियो’, उनले भने, ‘हामी जस्ताका लागि जुन दरबार आए पनि केही नहुने रहेछ ।’ जुम्ला तिला गाउँपालिकाका बिर्खबहादुर बुढा केही वर्षदेखि ग्रामीण सडक निर्माण कार्यमा संलग्न थिए । सिंहदरबारको अधिकार गाउँमा आएपछि अझ धेरै रोजगारीका अवसर सिर्जना हुने उनको विश्वास थियो । विकासका नाममा गाउँमा डोजरको हालीमुहाली भएपछि बुढाको रोजगारी पनि खोसियो । अब उनी कालापहाड जाने तयारीमा छन् । ‘हाम्रा लागि सिंहदरबारको अधिकार गाउँमा आएको रहेनछ’, उनले भने, àभएको रोजगारी पनि डोजर मालिकले खोस्दा अर्काको देश जानुपर्ने बाध्यता आइलाग्यो।’
कामको खोजीमा भारत जाने युवा स्थानीय सरकारले रोजगारी सिर्जना गर्न नसकेको आरोप लगाउँछन् । ‘स्थानीय तहमा आफूले चुनेका प्रतिनिधि आउँदा गाउँमै राजगारीका अवसर सिर्जना होलान् भन्ने सोचेका थियौं’, आठबीस नगरपालिकाका अर्जुन शाहीले भने, ‘स्थानीय सरकार बेरोजगारलाई रोजगारी सिर्जना गर्नभन्दा आफैं कमाउ धन्दामा लागेका छन्।’
रुकुम ९पश्चिम० सानीभेरी गाउँपालिका–४ का भरत बिष्टले स्थानीय सरकार रोजगारी सिर्जना गर्नभन्दा भौतिक पूर्वाधार निर्माणतर्फ केन्द्रित भएको आरोप लगाए।
रुकुम ९पश्चिम० मा कुनै पनि स्थानीय सरकारले युवाको रोजगारीका लागि नयाँ कार्यक्रम ल्याएका छैनन् । व्यवस्था परिवर्तन भए पनि आफूहरूको दैनिकी नफेरिएको विष्टको भनाइ छ । यहाँबाट रोजगारीका लागि पुरुषहरु भारतका साथै दक्षिण कोरिया, कतार, दुबई, मलेसियालगायतका ठाउँमा जाने गरेका छन्।
जिल्ला प्रशासन कार्यालय रुकुम ९पश्चिम० का अनुसार रोजगारीका लागि भारत र तेस्रो मुलुक जाने युवा पनि बढ्दैछन् । कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०७४–०७५ मा जिल्लाबाट दुई हजार २२४ जनाले राहदानी बनाएका थिए । प्रमुख जिल्ला अधिकारी शम्भुप्रसार रेग्मीले चालू आर्थिक वर्षको हालसम्म ६ सय ७१ जनाले राहदानी लिएको जानकारी दिए।
नगेन्द्र उपाध्यायरसुर्खेत, डिबी बुढारजुम्ला, गोविन्द केसीरदैलेख र लोकेन्द्र खनालररुकुम

0 टिप्पणियाँ