पतीता-१


मानिसहरू दरबारिया रासलीलाहरू चाखपूर्वक सुन्छन्, सुनाउँछन् । यस्ता रासलीलाले विश्वको इतिहास नै भरिएको छ भने नेपालको इतिहास त्यसबाट अछुतो रहने कुरै भएन । एउटा यस्तै कथा भक्तपुरको इतिहाससँग पनि जोडिएको छ । अझै पनि किम्बदन्तीका रूपमा रहेको यो कथाले त्यतिबेलाको भक्तपुरको सत्तासंघर्षको छनक पनि दिन्छ ।
राजा जितामित्र मल्ललाई कतिपय इतिहासकार भक्तपुरको कृषि प्रणालीमा सुधारका प्रबर्तक मान्छन् । कृषि क्षेत्रमा भक्तपुरको अहिले जुन धाक छ त्यसको बीजारोपण राजा जितामित्र मल्लले नै गरेका थिए । बीउबिजनको संग्रह, कुलो, पैनी तथा बाँध आदि निर्माण, कृषि बजारको व्यवस्था आदि उनका महत्त्वपूर्ण योगदान मानिन्छन् । त्यतिमात्र होइन यी राजा आफ्नो समयका प्रख्यात नाटककार पनि थिए । भक्तपुरमा अहिले देखिने अधिकांश मल्लकालीन सम्पदाको निर्माण गर्ने श्रेय पनि यिनै राजालाई छ । राजा जितामित्रको शासनकाल वि।सं। १७२० देखि १७५३ सम्म रहेको मानिन्छ । यति हुँदाहुँदै पनि जितामित्र स्त्रीलम्पट थिए । उनले कुनै जात्रा हेर्ने क्रममा एक युवतीलाई देखे, जसलाई मन पराएर उनले विवाहसमेत गरे । राजाकी ती कान्छी रानी कुनै युवककी प्रेयसी थिइन् । राजाले आफूसँग जबर्जस्ती विवाह गरे पनि ती रानीले आफ्नो प्रेम बिर्सन सकिनन् । आफ्नो प्रेम प्राप्त गर्नकै लागि उनले आफ्ना प्रेमी भाजु कसास्लाई सरकारी ओहदामा नियुक्ति दिलाएर दरबार भित्र्याइन् ।

दरबार पसेपछि भाजु कसास्को षड्यन्त्र सुरु भयो । त्यही षड्यन्त्रको परिणामस्वरुप राजा जितामित्र मल्लको असामयिक मृत्यु भयो । कतिपय इतिहासकारले राजाको मृत्युमा भाजु कसास्ले विष प्रयोग गरेको हुनसक्ने आशंका पनि गरेका छन् । राजाको मृत्यु हुँदा उनका उत्तराधिकारी भुपतिन्द्र मल्ल नाबालक थिए । त्यही अवसरको फाइदा उठाउँदै आफू नाबालक राजाको नायब भएर कान्छी महारानीले भाजु कसास्लाई मुख्य प्रशासक नियुक्त गरिन् अनि भाजु कसास्सँग खुलेआम रासलीला गर्न थालिन् । त्यसपछि भाजु कसास्ले राजा भुपतिन्द्र मल्लको हत्या गर्ने षड्यन्त्र रचे । उक्त षड्यन्त्रको सुइँको पाएपछि भुपतिन्द्र मल्ल बेपत्ता भए । भुपतिन्द्र मल्ल बेपत्ता भएपछि उनकी आमालाई थुनामा राखियो । त्यसपछि कान्छी महारानी र भाजु कसास्को रासलीला उत्कर्षमा पुग्यो भने भाजु कसास् नै भक्तपुरको सर्वेसर्वा भए । बेपत्ता भएपछि लुकेर बसेका भुपतिन्द्र मल्लले उमेर पुगेपछि भक्तपुरका जनताको सहयोगमा विद्रोह गर्दै पुनस् सत्ता आफ्नो हातमा लिए । सत्तामा फर्किएपछि उनले भाजु कसास्लाई शिरोच्छेदन गरी मृत्युदण्ड दिए भने आफ्नी कान्छी आमालाई महिला भएका कारणले मृत्युदण्ड नदिई आजीवन कारावासको सजाय सुनाए । भाजु कसास्लाई मृत्युदण्ड दिइएको ठाउँलाई अहिले पनि भक्तपुरवासीहरू घृणाको दृष्टिले हेर्छन् ।