करोडौंका योजना अलपत्र स् सात वर्षसम्म जग पुरिएन !
ओखलढुंगा : जिल्लामा निर्माणाधिन विकासका ठूला आयोजना जनप्रतिनिधिको बेवास्ता र निर्माण कम्पनीको लापरवाहीका कारण वर्षौँदेखि अलपत्र छन् । विद्यालय भवन, मोटरेवल पक्की पुल र सरकारी कार्यालयका भवन वर्षौदेखि निर्माण कार्य नै रोकिएका छन् । काम सुरु भए पनि ती निर्माण कार्य बीचमै पुगेर ठप्प भएका छन् । ओखलढुंगाको लिखु र रामेछापको लिखु तामाकोशी जोड्ने पक्की पुल ०६८ सालमा ५ करोड ८६ लाखमा ठेक्का लागे पनि पिल्लर मात्रै ठडिएका छन् । ०७० सालमा सम्पन्न गर्नुपर्ने भए पनि उक्त पुल अझै अलपत्र छ । त्यसयता तीन निर्वाचन सम्पन्न भए ।
०७० सालको निार्वचनमा त्यस क्षेत्रका सांसद रामहरि खतिवडा, ०७४ को स्थानीय तहको निर्वाचनमा गाउँपालिकाका प्रमुखका उम्मेदवार र संसदीय निर्वाचनमा सांसदका उम्मेदवारहरुको एक वर्षमै पुल बनाउने घोषणा थियो । तर, अझै उक्त पुल निर्माण अन्योल छ । यस्तै जिल्लाको पूर्व–पश्चिम सडक घोराखोरी ओखलढुंगा सडकको बीचमा रहेको मोलुङ खोला मान्द्रे दोभानको पक्की पुल पनि ०७० सालमै ठेक्का लागे पनि अझै सुरु भएको छैन । पहिलो वर्ष डिजाइन नमिलेको भनेर परिर्वतन गरिए पनि पिलर हाल्ने जग खनेर त्यसै छोडियो । जग खन्दा लगातार एक्जाभेटर बिग्रिएपछि मशान लागेको भन्दै तत्कालीन प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहालले पूजाआजा समेत गरेका थिए । पुल पनि निर्वाचन ताका मात्रै दलका नेताको चुनावी मुद्दा बनेको छ । त्यसयता आफ्नो क्षेत्रमा निर्माणाधिन संरचनाबारे स्थानीय तहका प्रमुखहरुले चासो नै देखाएका छैनन् ।
मान्द्रे पुल निर्माण गर्ने कम्पनी राजेन्द्र लोकप्रिय जेभीका मालिक भीमबहादुर साउद जाजरकोटका मेयर छन् । उनी निर्माण स्थलमै नआएको वर्षौँ भयो । खटाएका सबकन्ट्र्याक्टर समेत जिल्लामा सम्पर्कमा छैनन् ।
राजनीतिक पहुँचका आधारमा साउदले ठेक्का लिएका आयोजना निर्माण ठप्प भए पनि स्थानीय सरकारले कारवाही गर्न नसक्दा स्थानीय समेत आक्रोशित छन् ।साउद नेपाली कांग्रेसका नेता समेत हुन् । पछिल्लो समय त उनले सब कन्ट्र्याक्टरलाई दोष लगाउँदै पन्छिन खोजेका छन् । निर्माण कार्य किन रोकियो भनी सोध्दा उनी ‘सबकन्ट्र्याक्टरको लापरवाहीले पुल नबनेको’ जिकिर गर्छन् । यसबाहेक भारतीय राजदूतावासको अनुदानमा चण्डेश्वरी मावि रगनी र हिमालय उच्च माध्यमिक विद्यालय निसंखेको विद्यालय भवन समेत अलपत्र छ । यहाँ पनि ठेकेदारकै लापरवाहीले काम अलपत्र भएको बताइएको छ । रगनीको भवन बने पनि अन्तिम किस्ता रोकिएको भन्दै केही काम नगरी छोडिएको छ भने निसंखेको विद्यालय भवनको ३० प्रतिशतभन्दा बढी काम अलपत्र छ ।
दुवै विद्यालय भवन ०६८ मा निर्माण सम्झौता गरिएको थियो । तत्कालीन जिल्ला शिक्षा कार्यालयको भवन निर्माणको जिम्मा पाएका ठेकेदारका प्रतिनिधि बबी श्रेष्ठ नेकपाका नेताकै संरक्षणमा काम नगरी बसेका छन् ।
पाँच वर्षमा कार्यालयको जग मात्रै हालियो । काम नगर्ने ठेकेदार नै राजनीतिक नेता तथा जनप्रतिनिधिसँग निकट भएर हिँडिरहँदा स्थानीय थप आक्रोशित छन् । स्थानीय अगुवा रमेश श्रेष्ठ भन्छन्, ‘स्थानीय सरकार र नेताहरुले नै काम नगर्ने ठेकेदारलाई जोगाउँदै छ । ठूला योजना सम्पन्न नहुनुमा ठेकेदार सँगै स्थानीय सरकार पनि जिम्मेवार छ ।’ जिल्लाका मोलुङ तथा लिखु एकबार, दुधकोशी एकबार जस्ता सडक समेत एक वर्षदेखि बजेट अभावमा अलपत्र छन् ।

0 टिप्पणियाँ